नगरकोट—पर्यटन विकास समितिले भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोहरुको प्रदर्शनी गर्ने भएको छ ।
उनीहरुले भक्तपुर, काठमाडौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदासँगसँगै यहाँको रहनसहन, जात्रापर्व तथा रितिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी गरिने भएकाे छ । प्रदर्शनी फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्रमा हुनेछ । २ दिने प्रदर्शनी बिहान १० देखि बेलुका ५ बजेसम्म खुला रहनेछ ।
बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक–फरक काल खण्डको भक्तपुरको फोटोहरुले यहाँको परिवर्तित जीवनशैली मात्र झल्काउँदैन यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउने भक्तपुर पर्यटन विकास समितिले विश्वास लिएकाे छ ।
प्रदर्शनीले भक्तपुरको सांस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तनसमेत उजागर गर्ने विश्वास लिइएकाे छ ।
प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्बिर राखिनेछ । एउटै परिवारको तीन पुस्ताले खिचेका तस्वीरहरुको प्रदर्शनी सम्भवतः भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्ने समितिकाे भनाइ छ ।
प्रदर्शनीमा तीन पुस्ताले फरक–फरक समयमा एउटै कोणबाट खिचेको एउटै सम्पदाका तस्वीरहरु पनि हेर्न सकिनेछ । यसले भक्तपुरको सम्पदाको परिवर्तित स्वरुपबारे नयाँ पुस्तालाई जानकारी मिल्ने विश्वास गरिएको छ । प्रदर्शनीमा राखिएका सम्पदाको तस्वीरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैन्। जुन तस्बिरले आगामी दिनमा ती सम्पदाहरुको मौलिक स्वरुपमा पुननिर्माण गर्न सघाउन टेवा दिने केदार बनेपालीले बताए ।
विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा हुने प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नेछन् । भक्तपुर दरबार क्षेत्र स्थित तहा सत्तलमा हुने प्रदर्शनीमा राखिएका तस्वीरहरु अवलोकन सँगै बिक्रीको लागि पनि उपलब्ध हुनेछन् ।
बद्री प्रसाद बनेपाली
वि.सं. १९७२ सालमा जन्मिएका बद्री प्रसाद बनेपाली भक्तपुरकै सम्भवत पहिलो व्यावसायिक फोटोग्राफर हुन् । १४ वर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्केपछि केही वर्षसम्म घर घरमा गई फोटो खिचे । उनले २०१० सालमा आफ्नै घरमा दत्तात्री स्टुडियो सञ्चालन गरेर भक्तपुरमा ब्यावसायिक फोटोग्राफी सुरु गरेका थिए । प्रदर्शनीमा बद्री प्रसाद बनेपालीले ८० वर्ष अधि खिचेका तस्बिरहरु रहनेछन् ।
केदार प्रसाद बनेपाली
बुबा बद्री प्रसादको प्रेरणामा १२ बर्षमै केदार प्रसाद बनेपालीले फोटोग्राफी सुरु गरेका थिए । बुबाको फोटो स्टुडियोमा फोटो खिच्ने, धुलाउने काम गरेका केदार २०४३ सालमा नेपाल टेलिभिजनको लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भए । २०६६ सालमा टेलिभिजन रिपोर्टिङ छोडेर आफ्नै दत्तात्री स्टुडियोमा आवद्ध हुँदै आएका छन् । प्रदर्शनीमा करिब ५० वर्षअघि केदार बनेपालीले खिचेका तस्बिरहरु राखिनेछन् ।
सुनी बनेपाली
बुबा केदारसँग फोटोग्राफी सिकेकी सुनी संभवतः भक्तपुरकै पहिलो महिला फोटो पत्रकार हुन् । उनले केही समय नेपाल टेलिभिजनको भक्तपुर संवाददाता भई काम गर्नुका साथै भक्तपुरको मजदुर दैनिक र काठमाडाैँको नेपाल समाचार पत्रमा फोटो पत्रकारको रुपमा काम गरेकी थिइन् । उनले करिब ३० वर्षअघि खिचेकाे फोटोहरु प्रदर्शनीमा रहनेछन् ।
किसन बनेपाली
बुबा केदार र दिदी सुनीको संगत र प्रेरणाले गर्दा किसनले पनि १२ वर्षको उमेरमै फोटोग्राफी सुरु गरे । बुबाले नभ्याएको बेला नेपाल टेलिभिजनको लागि भिडियो रिपोर्ट खिच्ने गरेका किसन च्यानल नेपालका लागि भक्तपुर र काभ्रेको पहिलो संवाददाता भएर समेत काम गरे । उनी हाल हजुरबुबा बद्री प्रसाद र बुबा केदार प्रसादले निरन्तर सञ्चालन गर्दै आएको दत्तात्री स्टुडियोको ब्यवस्थापन हेर्दै आएका छन् । उनले २०/३० वर्षअघि खिचेकाे तस्बिरहरु प्रदर्शनीमा राखिनेछन्।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली