नगरकोट —आज भाद्र शुक्ल तृतिया अर्थात, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिव महादेवको पूजा आराधना गरी मनाईंदैछ । आजको दिन शिवालयमा गइ भगवान शिवको पूजाआजा गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ
काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेको सागालगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको विहानैदेखि भीड लागेको छ ।
हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन पोषणयुक्त दर खाएर बसेका नारीहरूले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् ।
विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भयो भने छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेछ । यस्तो वज्रपात छोरीमाथि किन प¥यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरी रजस्वला भएका बेलामा छुवाछुत बार्दिनथिन् र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थिन्, तर व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्थिन् । त्यसै पुण्यले उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालिन् ।
एकातिर ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा गर्दा पितृहरू मुक्त हुन्छन् भने अर्कातिर रजस्वला भएको अवस्थामा थाहा नपाएर, जानीजानी, झुक्किएर वा बाध्यतावश गरिएका सबै दोष नाश हुन्छन् भन्ने विश्वास गर्छन् हिन्दु महिला । नारीले घर, सामुदायिक भवन, कुनै सार्वजनिक ठाउँ वा मन्दिरमा भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा गरी तीजका गीत गाउँछन् । ऋषिपञ्चमीको व्रत गर्ने नारीले हलोले जोतेर उत्पादन गरिएको
अन्न खाने चलन छैन ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली