बैतडी—मान्छेको मृत्यु भएपछि आ–आफ्नो संस्कारअनुसार चितामा जलाउने वा खाडल खनेर पुर्ने चलन छ । खाडल खनेर पुर्दा सकेसम्म नयाँ ठाउँ खोज्ने र पुरेर चिहान बनाउने चलन छ । तर, बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेही भमतोलाका दलित परिवारमा भने कसैको मृत्यु भएपछि नयाँ चिहान खन्न निषेध छ । गाउँभरिका सबै दलितको शव एउटै खाडलमा पुर्नुपर्ने चलन छ ।
भमतोला जंगलस्थित जेठी बहुरानी जंगलमा वर्षांै पहिला बनाइएका दुई खाडलमा अहिलेसम्म १ सय ५० दलित परिवारका लास गाडिएको छ ।
५७ वर्षीय धौले विक भन्छन्, ‘लास गाड्नका लागि ५–५ फिटका २ खाडल बनाइएको छ । महिला पुरुषका लागि अलगअलग दुई खाडल बनाइएको छ भने खाडलको नाम ‘जेठी बहुरानी’ राखिएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेही भमतोलाका १ सय ५० भन्दा बढी दलितको शव एउटै खाडलमा गाडिएको छ । यदि कुनै दिन दुई जनाको मृत्यु भयो भने पहिला गाडेको शव चिहानबाट झिकेर जंगलमा फालिन्छ अनि नयाँ शव गाडिन्छ
कोही दलितको मृत्यु भएपछि पहिला गाडेको लास निकालेर जंगलमा फालेर नयाँलाई त्यसैमा गाड्ने गर्छन् ।
‘पुर्खादेखि नै हाम्रो यस्तै चलन छ, परम्परा भन्दै हामीले मान्दै आएका छौं,’ उनले भने ‘नजिकै जमाडी नदी छ तर हामीले तोकेको ठाउँबाहेक अन्त लगेर दाहसंस्कार गर्न पाइन्न ।’
तल्लादेहीका बसौरा, डाँडाखाली र पोखरी गाउँको दलित समुदायका चुनारा, लुहार र पार्की समुदायका व्यक्तिको मृत्यु भएमा त्यही खाडलमा पुर्ने गरिएको छ । खाल्टोमा गाड्नुअघि शव आधा डढाउने चलन छ । आधा डढाएपछि कंकाल खाल्डोमा पुर्ने गरिन्छ । धौले भन्छन्, ‘एकै दिन दुई जनाको मृत्यु भयो भने पहिला गाडेकोलाई निकालेर जंगलमा फाल्छौं अनि अर्को गाड्छौं ।’
पुरानो शव खाडलबाट निकालेर फाल्ने गरिएकाले जंगलमा जताततै मानव कंकाल भेटिने गरेका छन् ।
स्थानीय राकेश चुनाराका अनुसार जात्रा लाग्ने समयमा शव जलाउनै पाइँदैन । हल्का कपाल डढाएर खाल्डोमा गाड्ने चलन छ । ‘दलितले मात्रै नदीमा दाहसंस्कार गर्न नपाउँदा र एउटै खाल्डोमा पुर्नुपर्दा जातीय विभेद भएको महसुुुस भइरहेको छ,’ राकेशले भने ‘खाडल पुर्न नयाँ ढुंगा र माटो ल्याउन पाइँदैन पुरानै ढुंगा प्रयोग गर्नुपर्छ ।’
एउटै खाडलमा शव पुर्ने तरिका वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए । ‘पुरानो शव निकालेर जंगलमा फालेर नयाँ गाड्ने चलन राम्रो होइन । कसैको मृत्यु कुनै रोगबाट भएको रहेछ भने शव निकालेर फाल्दा अन्यलाई संक्रमण हुने खतरा हुन्छ,’ उनले भने । अधिकारकर्मी सरस्वती नेपाली यो प्रचलन दलितमाथिको विभेद भएको बताउँछिन् । पुर्चौडी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत वीरबहादुर नेपालीले यो चलनले दलितलाई थप पीडित बनाएको बताए ।
गैरसरकारी महासंघका अध्यक्ष गोविन्दराज जोशीले संस्कारका नाममा गरिँदै आएको यो चलनले दलित समुदायलाई थप पीडित बनाएको बताए । ‘नयाँ खाल्डो खन्न नपाउनु र पुरानैमा पुर्नु भनेको मरेपछि पनि पीडा दिनु हो,’ जोशीले भने, ‘यो प्रथाको अन्त्यका लागि चेतनाको स्तर बढाउने खालका कार्यक्रम ल्याउनुपर्छ ।’
यो खबर राजधानी राष्ट्रिय दैनिकमा छापिएको छ
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली